बौद्धिक वर्गको भूमिका तथा चुनौतीहरु
डा. नरविक्रम थापा
१. पृष्ठभूमि
बौद्धिक वर्ग भनेका ती त्यस्ता विचारक, शिक्षाविद्, विषय विज्ञ, विश्लेषक र समुदायका अगुवा हुन्, जसले राज्य सञ्चालन, नीति निर्माण, र सामाजिक विभेदमाथि आलोचनात्मक, तार्किक र नैतिक प्रश्न उठाउँने साहस गर्छन् । हाम्रो नेपाली समाजमा विश्वविद्यालयबाट उच्च तहको उपाधी प्राप्त गरेका व्यक्तिलाई ऑखा चिम्लेर बुद्धिजीवी ठहर्ने जो चलन देखिन्छ त्यो बुझाई सतही विश्लेषणको परिणाम हो । बुद्धिजीवी हुनको लागि अध्ययनशील, तथ्यको आधारमा प्रमाणित गर्न सक्ने क्षमता भएको, निर्भीक ढङ्गले सही कुराको जनपैरवी गर्ने, अन्याय, अत्याचारको विरुद्धमा आवाज उठाई समाजिक न्याय र समानताको पक्षमा डटेर संघर्ष गर्ने मानवीय गुण भएको विवेकशील मानिस हुन आवश्यक छ । बौद्धिक वर्गले सरकार, राज्यका निकायहरु, नीति निर्माता, निर्णयकर्ता र सेवा प्रदायक संस्थामा कार्यरत जिम्मेवार कर्मचारीसंग देश र जनताको पक्षमा निरन्तर खबरदारी गर्न प्रश्न सोधी रहनुपर्छ । प्रश्न सोध्ने व्यक्ति केही समय मूर्ख जस्तो देखिए पनिप्रश्न नसोध्ने जीवनभर मूर्ख हुन सक्छ । समाजमा बौद्धिक वर्गलाई परम्पारागत र जैविक बौद्धिक वर्ग गरी दुई भागमा विभाजन गर्न सकिन्छः
परम्परागत बौद्धिक वर्गः पुँजीवादी र सामन्तवादी व्यवस्थामा यी वर्गले शासक वर्गको स्वार्थ, अन्धविश्वास र यथास्थितिवादको पृष्ठपोषण गर्ने काम गर्दछन् ।
जैविक बौद्धिक वर्गः आलोचनात्मक चेतअनुसार परिवर्तनकारी बौद्धिक वर्ग ती हुन् जसले श्रमजीवी वर्गको पक्षमा वकालत गर्छन्, उनीहरूमा चेतना जगाउँछन्, र समाजमा विद्यमान असमानता तथा शोषणको आलोचना गर्छन् । नेपालको इतिहासमा समाज परिवर्तन गर्ने आन्दोलनको जग बसाल्न र त्यसलाई अगाडि बढाउन जैविक बौद्धिक वर्गको महत्वपूर्ण योगदान रहेको छ। नेपालमा सामन्तवाद र राजतन्त्रको अन्त्य गर्न, तथा गणतन्त्र स्थापनाका लागि बौद्धिक वर्गले सैद्धान्तिक तथा वैचारिक आधार तयार पारेका थिए । परिवर्तनकामी विचार राख्ने नेपाली बुद्धिजीवीहरूले नव–उदारवाद, भूमण्डलीकरण, र श्रम शोषणको आलोचना गर्दै गरिब र सीमान्तकृत वर्गको हकहितमा आवाज उठाउँदै आएका छन् । नेपालको सन्दर्भमा बौद्धिक वर्गको भूमिका, उनीहरूले लिनुपर्ने अडान, र जनमानसमा घट्दो विश्वासका कारणहरूलाई तल बुँदागत रूपमा चर्चा गरिएको छ।
२.पूर्वीय दर्शनमा जैविक बुद्धिजीवीको भूमिका
पूर्वीय दर्शनमा, विशेष गरी चाणक्य (कौटिल्य) को अर्थशास्त्र र नीतिशास्त्रमा राजा (शासक) को पहिलो कर्तव्य जनताको कल्याण र राष्ट्रको रक्षा मानिएको छ। चाणक्यको प्रसिद्ध सिद्धान्त अनुसार, “प्रजाको सुखमै राजाको सुख र प्रजाको हितमै राजाको हित हुन्छ अर्थात्, प्रजासुखे सुखं राज्ञः प्रजानां च हिते हितम”भनिएको छ ।
यस दर्शनमा शासकलाई निरंकुश हुनबाट रोक्न र राष्ट्रहित सुनिश्चित गर्न बौद्धिक वर्गको भूमिकाबारे निम्न कुराहरू बताइएको छः
सत्य बोल्ने नैतिक साहसः चाणक्यका अनुसार, सच्चा बुद्धिजीवी वा सल्लाहकार त्यो हो जसले राजालाई चाकडी नगरी राष्ट्र र जनताको हितमा सही बाटो देखाउँछ । राजा गलत बाटोमा लाग्दा चेतावनी दिनु वा सच्याउनु बौद्धिक वर्गको परम कर्तव्य हो ।
सचेत नागरिक र सन्तुलनः चाणक्य भन्थे कि यदि राज्यका बुद्धिजीवी र तर्कशील व्यक्तिहरू अशान्त वा असन्तुष्ट छन् भने, यसको अर्थ राजा गलत बाटोमा हिँडिरहेको छ भन्ने बुझ्नुपर्छबौद्धिक वर्ग शासकका लागि एक ‘चेतावनी घण्टी’ हुन् ।
राज्यको मेरुदण्डः विद्वानहरू राजाको व्यक्तिगत सम्पत्ति होइनन्, तर सम्पूर्ण राष्ट्र र प्रज्ञाका रक्षक हुन् । उनीहरूले नीति निर्माण, न्याय, र कूटनीतिमा राजालाई गलत निर्णय लिनबाट रोक्छन् ।
पूर्वीय परम्परामा राजालाई ‘धर्म’ (नैतिक कर्तव्य) को अधीनमा राखिएको हुन्छ । यदि शासक स्वार्थी, लोभी वा जनविरोधी बन्छ भने, त्यस्ता शासकको आलोचना गर्ने र राष्ट्रको वास्तविक अवस्थाबारे सचेत गराउने नैतिक जिम्मेवारी चाणक्य जस्ता दूरदर्शी र आलोचनात्मक बुद्धिजीवीको कॉधमा आउ‘छ ।
३. नेता र नीति निर्माताहरूलाई सोध्नुपर्ने प्रश्नहरू
बौद्धिक वर्गले सत्ता र शक्तिमा रहेका व्यक्तिहरूलाई निम्नलिखित व्यावहारिक र गम्भीर प्रश्नहरू सोध्नुपर्दछः
युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न देशमै रोजगारी सिर्जना गर्ने ठोस आर्थिक नीति के छ? कृषि र पर्यटन क्षेत्रको आधुनिकीकरण किन हुन सकेन?बढ्दो भ्रष्टाचार, बेथिति र दण्डहीनतालाई अन्त्य गर्न कानुनको पूर्ण कार्यान्वयन किन हुन सकेको छैन?स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवाहरू सबै नागरिकको पहुँचमा किन पुग्न सकेको छैन? यी क्षेत्रमा भइरहेको व्यापारीकरण कसरी रोकिन्छ?अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरू गर्दा देशको सार्वभौमिकता र राष्ट्रिय हित कसरी सुरक्षित हुन्छ? आदि ।
४. राष्ट्रिय बौद्धिक वर्गले लिनुपर्ने अडान
नेपालका वास्तविक बौद्धिक वर्गले निम्नलिखित विषयमा दृढ अडान लिनुपर्छः
कुनै पनि राजनीतिक दलको अन्धभक्त वा ‘स्पोक्सपर्सन’ नबनी पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष रहने ।
नेता र पार्टीलाई भन्दा देशका सार्वभौम जनतालाई केन्द्रमा राख्ने ।
गलत कार्य र नीतिगत भ्रष्टाचारको आलोचना गर्ने, चाहे त्यो आफ्नै आदर्श वा निकट व्यक्तिबाट किन नहोस् ।
आलोचना मात्र नगरी, समस्या समाधानका लागि व्यावहारिक र वैकल्पिक नीतिहरू समेत अघि सार्ने ।
नेपालमा भाषा राजनीति, शैक्षिक असमानता, र सांस्कृतिक विभेदलाई पनि परिवर्तनकामी दृष्टिकोणबाट विश्लेषण गर्ने गरिएको छ। उदाहरणका लागि, विद्यालय शिक्षामा पश्चिमा भाषा र संस्कृतिको दबदबालाई पुँजीवादी विस्तारको रूपमा आलोचना गर्ने गरिन्छ।
५. बुद्धिजीवीहरूप्रति जनविश्वास घट्नुका कारणहरू
पछिल्लो समय नेपालका बुद्धिजीवीहरूमाथि जनताको विश्वास कम हुँदै जानुको मुख्य कारणहरू यसप्रकार छन्ः
अधिकांश बुद्धिजीवीहरू कुनै न कुनै राजनीतिक दलको झण्डामुनि आबद्ध देखिनु र दलका कार्यकर्ता जस्तो व्यवहार गर्नु ।
सत्ता, लाभको पद, र विदेश भ्रमणको लोभमा बौद्धिक इमान्दारिता गुमाउनु ।
आम नागरिकका दैनिक समस्या र पीडाभन्दा पनि वातानुकूलित कोठामा सीमित सैद्धान्तिक बहसमा मात्र अल्झनु ।
बौद्धिक चोरीजस्ता अनैतिक क्रियाकलापमा समेत केही बुद्धिजीवीहरूको नाम मुछिनु आदि कारणले गर्दा बौद्धिक वर्गको कद घट्दै गएको पाइन्छ ।
६. चुनौती र सिकिएका पाठहरू
६.१ चुनौती
स्वतन्त्र विचार राख्दा सामाजिक सञ्जालमा हुने ट्रोलिङ, साइबर बुलिङ, र राजनीतिकर्मीबाट आउने धम्की नेपाली समाजमा व्याप्त छ ।आलोचनात्मक सिद्धान्तकारहरूका अनुसार नेपालका कतिपय बौद्धिक वर्गहरू क्रान्तिकारी बाटो छाडेर अवसरवाद र पुँजीवादी व्यवस्थामा विलय भएका छन् ।समकालीन नेपाली समाजमा बुद्धिजीवीहरू दलगत वा गुटगत स्वार्थमा बाँडिएकाले निष्पक्ष र आलोचनात्मक चेतना कमजोर हुँदै गएको बौद्धिक वृत्तमा गुनासो गरिन्छ।समाजमा समसामयिक सवालमा निरन्तर वहस तथा विचार विमर्ष कम हुन थालेकाले समाज कतातिर जॉदै छ भन्ने चिन्ता बढ्न गएको छ ।
६.२ सिकिएको पाठ
गरिबी र विपन्नतामा बाँचेका मानिसहरूको जीवन र जीविकोपार्जनमा सकारात्मक परिवर्तन ल्याउन आलोचनात्मक बुद्धिजीवीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । तिनीहरूको अनुभव र योगदानबाट सिकिएका प्रमुख पाठहरूलाई तल विवेचना गरिएको छः
१.संरचनात्मक असमानताको उजागरःगरिबी केवल स्रोतको अभाव मात्र नभई सामाजिक, राजनीतिक र आर्थिक संरचनाको परिणाम हो । आलोचनात्मक बुद्धिजीवीहरूले सीमान्तकृत समुदायको आवाज बन्दै शक्ति सन्तुलन, विभेदकारी नीति र स्रोतमाथिको असमान पहुँच (भूमिसुधार, पहुँचको अभाव) को पर्दाफास गर्छन् ।
२.वैकल्पिक ज्ञान र नीति निर्माणःतिनीहरूले गरिबी निवारणका लागि राज्यद्वारा लागू गरिएका योजनाहरूको गहन समीक्षा गर्छन् र व्यवहारिक तथा समावेशी विकल्पहरू प्रस्तुत गर्छन् । उदाहरणका लागि, नेपालको सन्दर्भमा सीमान्तकृत वर्गको सहभागिता सुनिश्चित गर्न उनीहरूले पैरवी गरेका छन् ।
३.सीमान्तकृत समुदायको सशक्तिकरणः आलोचनात्मक बुद्धिजीवीहरूले गरिब तथा उत्पीडित वर्गलाई आफ्नो अधिकार, क्षमता र अवसरहरूबारे सचेत गराउँछन् । शिक्षा, चेतना, प्राविधिक शीप र क्षमता विकासको माध्यमबाट ती समुदायले आफ्नो जीवनस्तर आफैँ उकास्न सक्ने अवस्था सिर्जना हुन्छ।
४.दिगो जीविकोपार्जनमा जोडःपरम्परागत कृषि वा सीपमा आश्रित गरिब परिवारहरूको जीविकोपार्जनलाई जलवायु परिवर्तन र विपद्ले झन् जोखिमपूर्ण बनाएको छ। बुद्धिजीवीहरूले विपद् व्यवस्थापन, वातावरण अनुकूल प्रविधि (जस्तैः सामुदायिक वन व्यवस्थापन), र उद्यमशीलताका माध्यमबाट आय आर्जन बढाउन योगदान गर्छन् ।
५.आलोचनाभन्दा माथि उठेर व्यावहारिक अभ्यासःकेवल सिद्धान्त र आलोचनामा मात्र सीमित नभई, यस्ता बुद्धिजीवीहरूले सामाजिक आन्दोलन र विकास कार्यक्रमहरूसँग हातेमालो गरेर व्यावहारिक परिवर्तन ल्याउन जोड दिन्छन् ।
७.सारसङ्क्षेप
नेपाल अहिले केवल राजनीतिक मात्र नभई गहिरो बौद्धिक संक्रमणकालबाट गुज्रिरहेको छ। यस अवस्थामा भावना, उत्तेजना र सस्ता नाराभन्दा पनि वैचारिक बहस, अध्ययन, र इमान्दारिताको खाँचो छ। यदि बौद्धिक वर्गले आफ्नो विवेक, इमान्दारिता र आलोचनात्मक चेतनालाई जोगाइराख्न सकेन भने समाज अराजक भीडमा परिणत हुन सक्छ। त्यसैले, राष्ट्रको दिगो विकास र समृद्धिका लागि बुद्धिजीवीहरूले सत्ताको प्रवक्ता नबनी निडर भएर तथ्यको आधारमा सत्यको पक्षमा जनपैरवी गर्नुपर्छ । तथ्यको ज्ञान नै विज्ञान हो । सबै विज्ञान ज्ञान हो तर सबै ज्ञान विज्ञान होइन । सत्य वहुमतले पनि निर्धारण गर्न सक्छ, तर तथ्यको लागि प्रमाण चाहिन्छ । निरन्तर प्रश्न गर्ने व्यक्ति नै तथ्यको नजिक पुग्छ । त्यसकारण बौद्धिक वर्गले प्रश्न गरि रहनुपर्छ । अरुलाई बदल्छु भनेर धेरै बुद्धिजीवी दार्शनिक कहलिन खोज्छन् तर मुख्य कुरा सो अनुरुप आफ्नो विचार, आचार, संस्कार पनि बदल्नु पर्छ । सच्चा दर्शनले मात्र जीवन, जगत र सत्यको कारण खोज्छ र न्यायपूर्ण समाजको स्थापना गर्न योगदान गर्ने गर्छ । मन शुद्ध हु‘दा वचन शुद्ध हुन्छ, वचन शुद्ध हु‘दा कर्म शुद्ध हुन्छ । त्यसैले कुनै पनि लक्ष पुरा गर्न नैतिकवान भई भित्रैदेखि मन, वचन र कर्मले लाग्नु पर्छ ।
सारमा, बौद्धिक वर्गले सधैँ सत्ताको वरिपरि घुम्ने वा चाकडी गर्ने प्रवृत्ति त्याग्नुपर्छ । बौद्धिक ज्ञान र विचारलाई राजनीतिक प्रमाणपत्रको आवश्यकता पर्दैन । समाजमा वास्तविक परिवर्तन ल्याउन बुद्धिजीवीहरू जनतासँग जोडिनु अनिवार्य छ।धेरै घमण्ड र अहंकारले जनाधार गुमाएपछि चेतनाको दियो निभ्छ । तब मानिस चिन्तन मनन् होइन, शक्ति, लोभ, लाभ, क्षिणिक शक्तिको भ्रम अनि आफ्ना पिच्छलग्गुहरुको माझमै रमाउन थाल्छ ।परिणामस्वरुप अन्त्यमा त्यस्ता व्यक्तिकोपतन हुन्छ । स्वस्थ वहस वा वादविवाद र विचार विमर्श बौद्धिक जीवनको प्राण हो । जो दुःख नै पाए पनि स्वाभिमानपूर्वक समाजमा जिउ‘छ, तथ्यको आधारमा सत्यको खोज गर्छ र अन्याय र अत्याचारको विरोधमा आवाज उठाउ‘छ उही नै समाजमा बॉची रहन्छ । त्यस्ता बौद्धिक व्यक्तित्वको मरण पनि सगरमाथा झै उच्च हुन्छ र इतिहासको पानामा उच्च मूल्याङ्कन सहित अवस्य लेखिनेछ ।
भर्खरै
मौलिक काठे भाकामा प्रेमको कथा : स्मृति गौतम र सरोज लामिछानेको ‘निष्ठुरे’ सार्वजनिक
बौद्धिक वर्गको भूमिका तथा चुनौतीहरु
डिभिजन वन कार्यालय सिन्धुलीका रेञ्जर मतारा “गणेश बहादुर शाही राष्ट्रिय संरक्षण पुरस्कार” बाट पुरस्कृत
सिन्धुलीको घ्याङ्लेख २ हायुटारमा अवस्थित सव डिभिजन वन कार्यालय बस्तिपुरको नव निर्मित भवन उद्घाटन
सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन
३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ ।
सिन्धुलीको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल कमलामाई स्थानमा निर्माण गरिएका २२ धारा प्रयोगमा आएकाछन् ।
धेरै पढिएको
३२ औँ विश्व आदिवासी दिवस आज सिन्धुलीमा सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम गरी मनाइएको छ ।
महँगीको चपेटामा पिल्सिएको गरिबको भान्सा !
सिन्धुलीको फिक्कल २ स्थित सुनकोशीमा बेपत्ताको खोजी साउन २५ गते सम्म गरिने
सिन्धुलीको कुण्डेश्वर माध्यमिक विद्यालय बेसारेबेसीमा शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले १३ सदस्यीय शैक्षिक विकास समाज समिति गठन
बि.पि. राजमार्ग स्थित सिन्धुलीको गोलन्जोर गाँउपालिका ५ छब्बिसमा हायस दुर्घटना हुदा ४ जना घाईते भएका
गणित शिक्षा परिषद् सिन्धुली शाखाको शनिबार उद्घाटन गरिएको छ ।
मौलिक काठे भाकामा प्रेमको कथा : स्मृति गौतम र सरोज लामिछानेको ‘निष्ठुरे’ सार्वजनिक


.png)


प्रतिकृया दिनुहोस