परिवर्तनका वाहकमा हुनुपर्ने विषेशता


डा. नरविक्रम थापा

१.पृष्ठभूमि
सामाजिक परिवर्तन अभिकर्ता भनेको कुनै पनि व्यक्ति वा समूह हो जसले चुनौतिपूर्ण मापदण्डहरू, नयाँ विचारहरू प्रस्तुत गरेर र समानुभूति, सम्भाव्यतामा विश्वास, र न्याय, वातावरण, वा शिक्षा जस्ता क्षेत्रमा सकारात्मक रूपान्तरणको प्रतिबद्धताले सञ्चालित ठुला क्रान्ति वा सामुदायिक आन्दोलनमार्फत समस्याहरू समाधान गर्न समुदायहरूलाई सशक्त बनाएर समाज सुधार गर्न सक्रिय रूपमा काम गर्दछ। तिनीहरूले राम्रो भविष्यका लागि नयाँ अभ्यासहरू र संरचनाहरू सहज बनाउन सञ्चार, हितधारक संलग्नता, र नेतृत्व जस्ता सीपहरू प्रयोग गर्छन्, जनसंगठनहरू वा जनस्तरबाट परिवर्तन सम्भव बनाउँछन् । सक्रिय कार्यकर्ता, जनमूखी सिद्धान्त (परिवर्तनकारी चेतना) र व्यापक जनसमर्थन विना आर्थिक—सामाजिक—राजनीतिक आन्दोलन सफल हुन सक्दैन ।
मानव सभ्यताको विकास ज्ञान, अनुसन्धान र आलोचनात्मक चेतनाको निरन्तर यात्राबाट सम्भव भएको हो । यिनै आधारहरूले मानिसलाई अन्धविश्वास, भय र मिथकको घेराबाट मुक्त गर्दै वैज्ञानिक र तर्कपूर्ण सोचतर्फ उन्मुख बनाएका छन् । नास्तिकता मूलतः यही चेतनाको सर्वोच्चता हो–तथ्य, प्रमाण र मानव बुद्धिमत्तामा आधारित दृष्टिकोण । तर परिवर्तनका वाहक हुनु केवल “भगवान् छैन” भन्नु मात्र होइन; यो जिम्मेवारी, अनुशासन, निरन्तर अध्ययन र सिंगै ब्रह्माण्डलाई बुझ्ने गहिरो आकांक्षासँग जोडिएको बौद्धिक अभ्यास हो । किनकि अन्धविश्वासको जरा धर्म मात्र होइन, मनोवैज्ञानिक भ्रम, सामाजिक संरचना, सांस्कृतिक परम्परा र सूचना–युगको भ्रमपूर्ण प्रचारयन्त्रमा पनि केन्द्रित छ। परिवर्तनका वाहक यी सबैसँग बुद्धिमत्तापूर्वक जुध्ने चेतनशील व्यक्ति हो । त्यसैले नास्तिकले विज्ञान, इतिहास, तर्कशास्त्र, समाजशास्त्र, मनोविज्ञानदेखि लिएर मानवतावादसम्मका क्षेत्रमा पारंगत बन्नु पर्छ । अध्ययनले परिवर्तनका वाहकहरुलार्ई स्वतन्त्र निर्णय क्षमता दिन्छ, तथ्य र झूट छुट्याउने शक्ति दिन्छ, मानवतावादी मूल्यहरू मजबुत बनाउँछ, र भविष्य–उन्मुख विवेकशील चेतना जन्माउँछ। अध्ययनशील र सक्रिय परिवर्तनका वाहकहरु मात्र आधुनिक चुनौतीको सामना गर्न सक्षम, दृढ र वैज्ञानिक दृष्टिकोणको चालक बन्न सक्छन्।
२.परिवर्तनका वाहकहरुमा हुनुपर्ने गुणहरु
२.१ सत्यको खोजी
परिवर्तनको चेतना कुनै अन्धमान्यता होइन; यो प्रमाण, तर्क र अवलोकनमा आधारित विश्वदृष्टिकोण हो । जसले प्रमाणलाई आधार मानेर जीवन बुझ्न चाहन्छ, उसले अवश्य पनि अध्ययनशील बन्नुपर्छ । वैज्ञानिक विधि अनुभव, प्रयोग र तथ्यको परीक्षणमा आधारित हुन्छ। हरेक दाबीलाई प्रश्न गर्ने कला वैज्ञानिक चेतनाको केन्द्र हो ।परिवर्तनका वाहक एउटा कुरा सुन्दैमा विश्वास गर्दैन, उसले बुझ्न, जाँच्न र प्रमाण खोज्न चाहन्छ। यही खोजीले उसलाई निरन्तर अध्ययनतर्फ डोर्याउँछ। विज्ञानले भौतिक संसारका नियमहरू–गुरुत्वाकर्षण, विकासवाद, जैविक संरचना, ऊर्जा, चेतना–सबैलाई तथ्यको उज्यालोमा बुझाउँछ। सत्यको खोजीमा प्रमाणको अभाव सहन नसक्ने परिवर्तनका वाहकहरु स्वभावतः अध्ययनमै रमाउँछ। किनकि अध्ययन नगरी सत्य पहिचान गर्न सकिँदैन ।यो तथ्यले नास्तिकतालाई दिमाग बन्द अनुशासन होइन, खुला विवेकको यात्रामा बदलिदिन्छ।
२.२ धार्मिक दाबीहरूको परिक्षण
धार्मिक ग्रन्थ, विश्वास र परम्परामा अनगिन्ती मिथकीय दाबी हुन्छन्– विश्व ७ दिनमा बन्यो, आत्मा अमर हुन्छ, स्वर्ग–नर्क स्थायी ठाउँ हुन्, चमत्कार वास्तविक घटना हुन् । यी दाबीहरूको सत्यता जाँच्न अध्ययनभन्दा ठूलो हतियार अरू के हुन सक्छ ?। परिवर्तनका वाहकहरु यदि अध्ययनशील नभए उसले अन्धविश्वाससँग लड्नै सक्दैन । आलोचनात्मक परीक्षणका लागि इतिहास, मानवशास्त्र, मनोविज्ञान, खगोलशास्त्र, जैविक विकासका सिद्धान्त जस्ता विषयहरूको आधारभूत बोध चाहिन्छ। जब ज्ञान पुरा हुन्छ, धार्मिक दाबीहरूको छाँया स्पष्ट देखिन थाल्छ–कल्पना र मिथकलाई इतिहास भनेर बेच्ने प्रवृत्ति, भय र आशा प्रयोग गरेर मानिसलाई नियन्त्रण गर्ने शैली, विरोधी विचारलाई दण्ड दिन उन्मुख समाज । अध्ययनले परिवर्तनका वाहकलाई “कुण्डली बोकेर होइन, तर्क बोकेर” सत्य खोज्ने व्यक्तिमा रूपान्तरण गर्छ । उसले प्रमाण बिना कुनै कुरालाई स्वीकार गर्दैन ।
२.३ स्वतन्त्र चेतनाको विकास
परिवर्तनमा चाहाना राख्ने व्यक्ति स्वतन्त्र सोचको मुख्य आधार हो । तर स्वतन्त्र सोच पनि अज्ञानमा टेकेको भए भ्रममै फसिन्छ। अध्ययनले चेतनालाई स्वतन्त्र बनाउँछ–अन्यको भनाइ, परम्परा, कान्तिपूजा, जातीय–धार्मिक मिथकका बन्धनबाट मुक्ति दिन्छ। जो अध्ययनशील हुन्छ, उसको सोच कुनै एक पुस्तक वा गुरुमा थुनिँदैन । यस्तो व्यक्ति विविध स्रोतबाट दृष्टिकोण लिन्छ, तुलना गर्छ र अन्तिम निर्णय आफ्नै बुद्धि–विवेकले गर्छ । स्वतन्त्र चेतना बिना परिवर्तन केवल विरोधको नाम मात्र हुन्छ, गहिरो दर्शन हुँदैन । पढाइले आत्मविश्वास पनि दिन्छ– “म बुझेर बोल्छु, अन्धो रूपमा होइन।” समाजले जब अवैज्ञानिक नियम, अनैतिक आदेश वा परम्पराको नाममा दमन गर्छ, तब अध्ययनशील परिवर्तनका वाहकले आफूलाई र अरूलाई चिन्तनको बाटोतर्फ लैजान सक्षम हुन्छ।
२.४ अन्धविश्वास विरुद्ध वैज्ञानिक वहस
अन्धविश्वासीहरू प्रायः भावनात्मक तर्क प्रयोग गर्छन– ‘भगवान् छन्, किनकि हामी विश्वास गर्छौँ’, ‘पुर्खाले भनेकै पर्याप्त प्रमाण हो’, ‘चमत्कार देखिन्छ।’ परिवर्तनका वाहकले यस्ता भावनात्मक तर कथा र वार्तालापमा प्रभावशाली तर्कलाई तथ्यका आधारमा खण्डन गर्न सक्षम हुनुपर्छ । यसको लागि विज्ञान, तर्कशास्त्र, मनोविज्ञान र इतिहासको अध्ययन अत्यावश्यक हुन्छ। अध्ययनशालीन परिवर्तनका वाहकले कसरी तर्क गर्नुपर्छ, कसरी प्रमाण प्रस्तुत गर्नुपर्छ, कसरी मिथक र वास्तविकता छुट्याउनुपर्छ–यी सबै ज्ञान प्राप्त गर्छ । यसले समाजमा अन्धविश्वासको हलो कमजोर हुँदै जान्छ। अज्ञानता शक्तिशाली छ, तर ज्ञान अझ शक्तिशाली बन्छ, त्यसैले परिवर्तनका वाहक हुनु भनेको केवल ‘भगवान् हुँदैन’ भन्नु मात्र होइन; यो अन्धविश्वाससँग तर्कसंगत, शान्त र प्रमाणमा आधारित तरिकाले बहस गर्ने योग्यता विकास गर्नु पनि हो, जुन अध्ययनले सम्भव बनाउँछ।
२.५ मानव सभ्यताको विकास क्रम बुझ्ने
परिवर्तनका चिन्तन अहिलेको विचार मात्र होइन; मानव सभ्यताको विकाससँगै विज्ञान, दर्शन र सामाजिक संरचनाहरुले दिएको एउटा परिणाम हो । मानव समाज कसरी शिकारी युगबाट कृषक, त्यसपछि राज्य, धर्म, साम्राज्य, आधुनिक राष्ट्र–राज्य र वैज्ञानिक युगतिर उन्मुख भयो भन्ने ज्ञान बिना नास्तिकता अधूरो हुन्छ । अध्ययनले समाजलाई बुझाउँछ कि धार्मिक संरचना कहिले, किन र कसरी निर्माण भयो; मिथक किन बनाइए; शासकले धर्मलाई किन सत्ताको औजार बनाए; विज्ञानले किन पुराना विश्वासलाई चुनौती दियो । जब सभ्यताको इतिहास थाहा हुन्छ, तब व्यक्ति धार्मिक दाबीहरूको उत्पत्ति, उद्देश्य र सीमालाई स्पष्ट बुझ्छ। मानव सभ्यताको कथा नबुझेको परिवर्तनका वाहक अन्धविश्वासको मनोवैज्ञानिक र सामाजिक जड बुझ्न सक्दैन। त्यसैले अध्ययनमार्फत इतिहास बुझ्नु आधारभूत सर्त  हो ।
२.६ नैतिकताको आधार पहिल्याउने
धर्मले नैतिकता ‘भगवान्’ बाट आयो भन्छ। तर परिवर्तनका वाहक भन्छ–नैतिकता मानव सभ्यता, मानव मस्तिष्क, सामाजिक सहअस्तित्व, सहानुभूति र विकासवादी मनोविज्ञानबाट जन्मिएको हो ।यसलाई बुझ्न गहिरो अध्ययन चाहिन्छ। विकासवादले देखाउँछ कि परोपकार, सहकार्य, दया, सुरक्षाको भावना आदि जैविक रूपमा विकसित गुण हुन् । धर्म नहुँदा पनि मानिस किन नैतिक हुन्छ भन्ने बुझ्न मनोविज्ञान, समाजशास्त्र र न्यूरोसायन्सको ज्ञान आवश्यक हुन्छ। परिवर्तनका वाहकले जब नैतिकताको वैज्ञानिक पक्ष बुझ्छ, तब उसलाई ‘भगवान् नभए समाज नैसर्गिक रूपमा नैतिकता गुम्छ’ भन्ने दाबीको भ्रम च्यात्न सजिलो हुन्छ। अध्ययनशील परिवर्तनका वाहक कुनै दैवी दण्ड वा स्वर्ग–नर्कको प्रलोभनले होइन, मानव–मानवबीचको सहअस्तित्व र वैज्ञानिक आधारमा नैतिकता व्याख्या गर्न सक्षम हुन्छ।
२.७ दमन र शोषणको माखेसाङ्लो पहिल्याउने
धर्म केवल आध्यात्मिक कथा होइन; यसले हजारौँ वर्षदेखि सत्ता, राजनीति र अर्थशास्त्रमा ठूलो भूमिका खेलेको छ । मध्यकालीन अत्याचार, चुडैल–सिकार, जातीय विभेद, वैज्ञानिकहरूको हत्या, महिला दमन, बालविवाह, सतीप्रथा, छुवाछुत जस्ता घटनाहरू बुझ्न इतिहास अध्ययन चाहिन्छ। यी घटना बुझेन भने आजका धर्मको संरचना, प्रवृत्ति र प्रभाव बुझ्न सकिँदैन ।परिवर्तनका वाहकले अध्ययन गर्नुको अर्थ यस्ता ऐतिहासिक घटनाबाट पाठ सिक्नु हो–कसरी धर्मले शक्तिको दुरुपयोग गर्यो, कसरी समाजलाई अज्ञानतामा बन्दी बनायो, कसरी भय–त्रास फैलाएर नियन्त्रण गर्यो । जब परिवर्तनका वाहक इतिहाससँग परिचित हुन्छ, तब ऊ केवल भावनामा होइन, तथ्यमा आधारित आलोचना गर्न सक्षम हुन्छ। त्यसैले अध्ययनशील परिवर्तनका वाहक समाज सुधारका लागि पनि प्रभावकारी हुन्छ ।
२.८ समानतामूलक समाजको रुपान्तरण
धर्मले प्रायः आज्ञापालन, दासता, अन्धभक्ती र समर्पण सिकाउँछ; प्रश्न नगर्नु, आज्ञाकारी बन्नु, गुरुको प्रचारमा बस्नू, तर परिवर्तनका वाहकले स्वतन्त्र समाजको जग बसाल्छ–जहाँ मानिसले आफू सोच्न सक्छ, प्रश्न गर्न सक्छ, विकल्प खोज्न सक्छ। यस्तो समाज बनाउने व्यक्तिले अवश्य अध्ययनशील हुनुपर्छ । अध्ययनले व्यक्ति स्वतन्त्र विचारका सिद्धान्त, लोकतन्त्र, मानवअधिकार, वैज्ञानिक चेतना, समानता जस्ता मूल्य बुझ्छ। परिवर्तनका वाहकले जब यी मूल्यलाई शास्त्रीय र आधुनिक सन्दर्भमा अध्ययन गर्छ, तब उसले स्वतन्त्र समाजका लागि आवश्यक आधार तयार गर्न सक्छ। अज्ञान व्यक्तिले स्वतन्त्रता टिकाउन सक्दैन; ज्ञानयुक्त व्यक्तिले मात्र दमनकारी शक्तिको सामना गर्न सक्छ। त्यसैले स्वतन्त्र समाज बनाउने सपना बोकेको परिवर्तनका वाहक अध्ययनशील हुनै पर्छ ।
२.९ मिथ्य र तथ्य सत्य केलाउने
धार्मिक कथामा मानिसलाई चमत्कार, अलौकिक शक्ति, अदृश्य हस्तक्षेप र दैवी विस्मयले बाँधिन्छ। तर परिवर्तनका वाहकले भन्छ–पहिलो आँखामा देखिएको कुरा नै सत्य होइन; यसको स्रोत, उद्देश्य र प्रमाण खोज ।मिथक र तथ्य छुट्याउन अध्ययन सर्वोत्तम साधन हो । इतिहास, भाषाशास्त्र र पुरातत्वले धार्मिक कथाको वास्तविकता के हो भनेर स्पष्ट पारिदिन्छ। मनोविज्ञानले मानव मस्तिष्कले किन कथालाई चमत्कार बनाउँछ भन्ने बताउँछ। विज्ञानले कुन कुरा भौतिक नियमसँग मेल खान्छ, कुन कुरा असम्भव छ देखाउँछ। यसरी अध्ययनले नै मानिसलाई भ्रमबाट मुक्त गर्छ । परिवर्तनका वाहक यदि मिथकलाई तथ्य ठान्यो भने उसमा पनि अन्धविश्वास जन्मिन्छ । तसर्थ अध्ययन अनिवार्य सर्त हो ।
२.१० विश्वदृष्टि निर्माण
आजको संसार विज्ञान, प्रौद्योगिकी, डेटा, अनुसन्धान र तर्कका आधारमा चल्छ। यहि आधुनिक विश्वदृष्टि परिवर्तनको मेरुदण्ड हो ।अध्ययनबिना आधुनिक विचार बुझ्न सकिँदैन । बिग–बैङ, विकासवाद, क्वान्टम भौतिकी, कृत्रिम बुद्धिमत्ता, न्यूरो–विज्ञान, अन्तरिक्ष अन्वेषण–यी सबै विज्ञानले दिएको ज्ञानले विश्वदृष्टि बनाउँछ। परिवर्तनका वाहकले यो संसारलाई दैवी डिजाइन होइन, प्राकृतिक प्रक्रियाको परिणाम भनेर बुझ्न अध्ययनमा पारङ्गत हुनुपर्छ । आधुनिक विश्व बुझ्दा मात्र नास्तिकता अन्ध–प्रतिक्रियात्मक होइन, प्रगतिशील दर्शन बन्छ।
२.११ मनोवैज्ञानिक भ्रम चिर्ने
मानिसको मस्तिष्कले स्वतःस्फूर्त रूपमा अनेकौँ त्रुटि गर्छ– पुष्टिकरण पूर्वाग्रह, ढाँचा खोज्ने, अन्धविश्वास प्रवृत्ति, भावनात्मक तर्क । यिनै त्रुटिले देवता, चमत्कार, प्रार्थना, श्राप–आशीर्वादमा विश्वास जन्माउँछन्। परिवर्तनका वाहक भनेका यी भ्रमहरूलाई बुझेर तर्कसंगत चेतनातर्फ उन्मुख हुने सचेत व्यक्ति हुन् । त्यसका लागि मनोविज्ञान, संज्ञानात्मक विज्ञान र व्यवहारगत अध्ययन अपरिहार्य हुन्छ। परिवर्तनका वाहक अध्ययनशील भयो भने उसले बुझ्छ–किन मान्छे असम्भव कुरामा विश्वास गर्छ, किन भय र आशाले मिथक बनाउँछ, किन सामूहिक उन्मादले चमत्कारजस्तै लाग्ने घटना सिर्जना गर्छ । अध्ययन नभए परिवर्तनका वाहक आफैँ पनि भावनात्मक तर्कको जालमा फस्न सक्छ। त्यसैले मनोवैज्ञानिक भ्रम पहिचान गर्न अध्ययन अनिवार्य हुन्छ। यसले व्यक्ति स्वतन्त्र, स्पष्ट, निष्पक्ष र वैज्ञानिक सोचतर्फ उन्मुख बनाउँछ।
२.१२ समाज विश्लेषण
धर्म केवल देवताको कथा होइन; यो समाज, संस्कृति, वर्ग, राजनीति, मनोविज्ञान र आर्थिक संरचनाको जटिल मिश्रण हो ।परिवर्तनका वाहकले धर्म किन जन्मियो, किन टिक्यो, किन विस्तार भयो, कसले लाभ लिन्छ र को को पीडित हुन्छ– यी प्रश्न बुझ्नुपर्छ । यसको उत्तर अध्ययनबाट मात्र मिल्छ। समाजशास्त्र, सांस्कृतिक अध्ययन, मानवशास्त्र, राजनीति–अर्थशास्त्र बिना धर्मको भूमिकाको गहिरो विश्लेषण सम्भव हुँदैन ।परिवर्तनका वाहकले बुझ्नुपर्छ कि विश्वासहरू सामाजिक संरचनाले बनाउँछन । धार्मिक नियमहरू धेरैजसो राजनीतिक स्वार्थबाट जन्मिएका हुन्छन् । अध्ययनले त्यो पर्दा हटाउँछ–परम्पराको नाममा के संरक्षित छ, दमनकारी चलनहरूको जरा कहाँ छ, धार्मिक संस्थाहरूको शक्ति कहाँबाट आउँछ। यसरी परिवर्तनको सोंच केवल व्यक्तिगत विचार नभई समाजको संरचनात्मक विश्लेषणमा आधारित दृष्टिकोण बन्छ।
२.१३ स्वतन्त्र निर्णय क्षमता
अध्ययनहीन व्यक्तिको निर्णय प्रायः भीड, परम्परा, प्रचार र भावनाले निर्देशित हुन्छ। तर परिवर्तनका वाहक व्यक्तिलाई आफ्नो दिमागले निर्णय गर्ने स्वतन्त्रता दिन्छ। वैज्ञानिक तथ्य, ऐतिहासिक अनुभव, तर्कशास्त्र, नैतिक सिद्धान्त–यी सबैको अध्ययनले परिवर्तनलाई निर्णय–स्वतन्त्र बनाउँछ। जब कुनै व्यक्ति अध्ययनशील हुन्छ, उहाँ कुनै चमत्कार वा भाग्य–दोषको डरले होइन, तथ्यको आधारमा निर्णय गर्छ। कुनै समस्या आयो भने प्रार्थना होइन, विश्लेषण गर्छ। कुनै विवाद आयो भने भविष्यवाणी होइन, प्रमाण हेर्छ । स्वतन्त्र निर्णय क्षमता नै आधुनिक मानवको पहिचान हो, र यसका लागि अध्ययन त्यत्तिनै आवश्यक छ। त्यसैले परिवर्तनका वाहकले मानिसलाई विवेकशील, उत्तरदायी र तथ्य–आधारित निर्णयकर्ताको भूमिका दिन्छ।
२.१४ वैज्ञानिक आविष्कार र मानव विकास
मानव सभ्यता वैज्ञानिक आविष्कारले अगाडि बढेको छ–औषधि, यातायात, सञ्चार, ऊर्जा, कृषि, अन्तरिक्ष, कम्प्युटर। यी सबै विकासको मूलमा तर्क, अनुसन्धान र अध्ययन छ। परिवर्तन विज्ञानसँगको सहयात्रा हो ।परिवर्तनका वाहकले समझनुपर्छ कि प्लेग रोक्ने औषधि चाहिन्छ मन्दिरले होइन, सूक्ष्मजीव विज्ञानले बनायो; बिजुली दैवी चमत्कारले होइन, प्राकृतिक नियमको अध्ययनले बुझियो; अन्तरिक्षमा पुग्नु प्रार्थनाले होइन, अनुसन्धानले सम्भव भयो। अध्ययनले नास्तिकलाई मानव प्रगतिको वास्तविक स्रोत पहिचान गर्न मद्दत गर्छ । चमत्कार होइन, मानव मस्तिष्कको परिश्रम र वैज्ञानिक चेतनाले नै संसार बदल्यो भन्ने बोध परिवर्तनका वाहकको मूल पक्ष हो ।
२.१५ तर्क शक्ति तीक्ष्णता
विज्ञानमा तर्क मुख्य हतियार हो । तर्कशक्ति जति मजबूत, अन्धविश्वाससँगको संघर्ष त्यति प्रभावकारी। तर तर्क आफैँ पैदा हुँदैन; यसका लागि अध्ययन, अभ्यास र आलोचनात्मक सोच आवश्यक हुन्छ। दर्शनशास्त्र, तर्कशास्त्र, वैज्ञानिक पद्धति– यिनीहरूले मानिसलाई सोच्ने, प्रश्न गर्ने, निष्कर्ष निकाल्ने कला सिकाउँछन् । तर्कशक्ति तीक्ष्ण भयो भने व्यक्ति भावनाको उभारमा बगँदैन, लोकप्रिय भ्रममा फस्दैन, भयमा झुक्दैन ।परिवर्तनका वाहकले चमत्कार, भाग्य, कर्म, श्रापजस्ता अवधारणालाई तर्कको दृष्टिले परीक्षण गर्छ । अध्ययनले उसको बुद्धिलाई धारिलो, विश्लेषणात्मक र विवेकी बनाउँछ।
२.१६ सूचना प्रविधिको ज्ञान
आजको युग सूचना–विस्फोटको युग हो । लाखौँ सामग्री–धर्म, विज्ञान, राजनीति, षड्यन्त्र–सिद्धान्त, मिथक, फेक–न्यूज–सबै डिजिटल संसारमा घुलमिल भइरहेका छन् । यस्तो अवस्थामा अध्ययन नहुने व्यक्ति सजिलै झूट, भ्रम, चमत्कारिक दाबी र धार्मिक प्रचारमा फस्छ। परिवर्तनका वाहक आधुनिकता, विज्ञान र तथ्यको आधारमा दृढ रहन्छ। त्यसैले सूचना–युगमा परिवर्तनका वाहकले अध्ययनशील हुनैपर्छ । अध्ययनले तथ्य र भ्रमपूर्ण समाचार छुट्याउने क्षमता राख्छ। यसले लोकतन्त्र, व्यक्तिगत स्वतन्त्रता र वैज्ञानिक सोचलाई सुरक्षित राख्छ।
२.१७ व्यक्तिगत स्वाभिमान
धर्मले प्रायः मानिसलाई “अपराधी”, “पापी” र “अयोग्य” बनाइदिन्छ। तर आत्मसम्मान ज्ञान बिना टिक्दैन। अध्ययनशील परिवर्तनका वाहकले बुझ्छ कि मानिस दैवी आदेशको दास होइन; उसमा निर्णय, सृजनशीलता, नैतिकता र समझका प्राकृतिक क्षमता छन् । अध्ययनले व्यक्तिलाई स्वतन्त्र बनाउँछ–गलत परम्पराबाट डराउँदैन, दैवी दण्डको कल्पनाले डराउँदैन, आत्मविश्वासले निर्णय गर्छ ।परिवर्तनका वाहकको गहिराइ नै “मानव स्वाभिमान” मा छ, जसलाई ज्ञानले मात्र बल दिन्छ।
२.१८  भविष्य दृष्टि निर्माण
परिवर्तनका वाहकको काम केवल वर्तमानसँगको संघर्ष मात्र होइन; यो भविष्य–उन्मुख दर्शन हो–प्रगतिशील, परिवर्तनशील र वैज्ञानिक। भविष्य कसरी बन्नेछ? प्रविधि कहाँ पुग्नेछ? मानवता कता जाँदैछ?–यी प्रश्न बुझ्न अध्ययन अनुसन्धान आवश्यक हुन्छ। प्रविधि, अर्थशास्त्र, वातावरण, सामाजिक परिवर्तन, राजनीतिका नयाँ प्रवृत्ति–यी सबैको अध्ययनले परिवर्तनका वाहकमा दूरदृष्टि विकास हुन्छ। भविष्य बुझ्ने व्यक्ति मात्र आजको अन्धविश्वाससँग लड्न सक्छ। भविष्यको दृष्टिकोण बिना परिवर्तन केवल आलोचना बन्छ; अध्ययनले यसलाई दिगो दर्शन बनाउँछ।
२.१९ जीवन जिउने कला
धर्मले समस्या आयो भने प्रार्थना, बली, दान, पूजा सुझाउँछ। तर वास्तविक समाधान वैज्ञानिक, सामाजिक र मनोवैज्ञानिक विश्लेषणले दिन्छ। अध्ययनशीलपरिवर्तनका वाहक समस्याको कारण, प्रक्रिया र समाधान–विकल्प खोज्छ। रोग लाग्यो भने अस्पतालतर्फ लाग्छ; आर्थिक समस्या आयो भने योजना र सीप विकासतर्फ; सामाजिक समस्या आयो भने तथ्य–विश्लेषण र परिवर्तनका उपाय खोज्छ। जीवनका कठिन क्षणहरूमा तथ्य–आधारित सोचले मात्र व्यक्ति दृढ रहन्छ। अध्ययन नहुने परिवर्तनका वाहक भावनात्मक रुपमा कमजोर हुन सक्छ। त्यसैले अध्ययनले जीवनप्रति व्यावहारिक, वैज्ञानिक र दृढ जीवन जिउने कला रदृष्टिकोण दिन्छ।
३. निष्कर्ष
नेपालमा सामाजिक परिवर्तनका कारकहरू सम्बन्धी निष्कर्षहरूले एक जटिल, चलिरहेको परिवर्तनलाई प्रकाश पार्छ जहाँ युवा, महिला, नागरिक समाज संगठनहरू र फर्केका आप्रवासीहरू लगायत विभिन्न कारकहरूले विशेष गरी शासन, लैङ्गिक समानता र सामाजिक समावेशीकरणमा महत्वपूर्ण परिवर्तनहरू ल्याएको छ। यद्यपि, नीतिलाई व्यवहारमा पूर्ण रूपमा अनुवाद गर्न र सबै समुदायहरूमा समान रूपमा लाभहरू वितरण सुनिश्चित गर्न चुनौतीहरू देखिएका छन् ।
राजनीतिक र नागरिक जीवनमा पहिले सीमान्तकृत समूहहरू, विशेषगरी महिलाहरूको सहभागितामा उल्लेखनीय वृद्धि भएको छ। परम्परागत शक्ति संरचनाहरूलाई चुनौती दिँदै स्थानीय र राष्ट्रिय सरकारी निकायहरूमा बढ्दो महिला प्रतिनिधित्वबाट यो स्पष्ट हुन्छ। परिवर्तनका अभिकर्ताहरूले सफलतापूर्वक प्रगतिशील नीतिहरू र महिला र ऐतिहासिक रूपमा सीमान्तकृत समुदायहरूको समावेशीकरण र अधिकारलाई समर्थन गर्ने संवैधानिक ढाँचाको वकालत गरेका छन् । कानुनी ढाँचाले नै सामाजिक परिवर्तनका लागि एउटा औजारको रूपमा काम गर्दछ ।
आप्रवासन र शिक्षा र रोजगारीमा बढ्दो पहुँचले महिलाको आर्थिक स्वतन्त्रतामा वृद्धि गरेको छ, जसले परिवार भित्र परम्परागत लैङ्गिक भूमिकाको पुनर्मूल्यांकन र रेमिट्यान्स र साना व्यवसायमार्फत राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पु¥याएको छ। प्रगतिको बावजुद, सामाजिक परिवर्तनका फाइदाहरू असमान रूपमा वितरित छन् । जाति, वर्ग, जातीयता र स्थानमा आधारित असमानतालाई छेड्ने सामाजिक सम्बन्धलाई आकार दिन जारी छ । महिलाहरूका लागि ‘दोहोरो बोझ’ प्रायः विद्धमान हुन्छ किनकि उनीहरूले नयाँ रोजगारीलाई विद्यमान घरेलु जिम्मेवारीहरूसँग सन्तुलनमा राख्छन् । भविष्यका सामाजिक परिवर्तनका प्रयासहरूमा पुरुषहरू संलग्न हुनुपर्दछ र अर्थपूर्ण र दिगो लैङ्गिक समानता प्राप्त गर्न उनीहरूको परिवर्तनशील भूमिका र धारणाहरूलाई सम्बोधन गर्नुपर्दछ।समग्रमा, नेपालमा सामाजिक परिवर्तन एउटा गतिशील प्रक्रिया हो जुन गहन रूपमा निहित परम्परागत पदानुक्रमहरू बिचको तनाव र सबै तहमा विविध अभिकर्ताहरूद्वारा प्रेरित अधिक समावेशी, अधिकार–आधारित समाजतर्फ द्रुत गतिमा परिवर्तनको विशेषता हो ।
सारमा,परिवर्तनको चिन्तन कुनै रिक्त दर्शन होइन; यो ज्ञान, आलोचनात्मक सोच र मानव–केन्द्रित चेतनाको परिष्कृत रूप हो । अध्ययनविहीन परिवर्तनका वाहक केवल असहमतिको घोषणामात्र बन्छ, तर अध्ययनशील परिवर्तनका वाहक परिवर्तनकामी शक्ति बन्छ । अध्ययनले उसलाई भ्रम, मिथक र अनुचित परम्पराबाट मुक्त गर्छ र तथ्य, विज्ञान र मानवीय जिम्मेवारीतर्फ उन्मुख बनाउँछ। आत्मसम्मान, तर्क, वैज्ञानिक दृष्टि र मानवतावाद–यी सबै मूल्य अध्ययनबाट नै सुदृढ हुन्छन् । अन्ततः परिवर्तनका वाहक हुनु भनेको ज्ञान–आधारित जीवन अपनाउनु, तर्कलाई आधार बनाउनु, र मानवताका लागि जिम्मेवार चेतना विकास गर्नु हो । यस अर्थमा अध्ययनशील परिवर्तनकारी सोंच आधुनिक समाजको सबै भन्दा प्रगतिशील, विवेकी र युगान्तकारी दृष्टिकोण हो । अस्तु ।

 

प्रतिकृया दिनुहोस

भर्खरै

धेरै पढिएको

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३