सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुली। रिलिफ नेपाल सिन्धुली र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित हातेमालो हातेमालो IPF परियोजना अन्तर्गतका १० वटा IMPACT+ क्लबहरूले आफ्नै नेतृत्वमा समुदाय सेवा सिकाइ परियोजना (CSLP) सञ्चालन गरी समुदायमा रहेका विभिन्न सामाजिक तथा विकाससम्बन्धी समस्याहरू समाधान गर्ने प्रयास गरेका छन्।
किशोरकिशोरीहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सञ्चालन गरिएका यी परियोजनाहरू क्लब सदस्यहरूले आफैं समस्या पहिचान, प्राथमिकीकरण, योजना निर्माण, बजेट व्यवस्थापन तथा सरोकारवालासँग समन्वय गरेर कार्यान्वयन गरेका हुन्। समुदायमा रहेका समस्या पहिचान गर्न क्लबहरूले समुदाय अवलोकन, छलफल, बैठक तथा विभिन्न सहभागितामूलक विधिहरू प्रयोग गरेका थिए। परियोजनाअन्तर्गत तीनपाटन–५ मा बालविवाह न्यूनीकरण परियोजना, तीनपाटन–६ मा लागूऔषध, धूम्रपान तथा मद्यपान न्यूनीकरण परियोजना, तीनपाटन–८ मा समुदाय तथा व्यक्तिगत सरसफाइ परियोजना, तीनपाटन–११ मा दिगो फोहोर व्यवस्थापन परियोजना, फिक्कल–३ मा लागूऔषध दुर्व्यसन विरुद्धको परियोजना, गोलनजोर–१, डुडभञ्ज्याङमा सुरक्षित खानेपानीका लागि धारा निर्माण परियोजना, गोलनजोर–१, सिमलटारमा सुरक्षित तथा समावेशी भलिबल कोर्ट निर्माण परियोजना, फिक्कल–२, लुम्टीमा व्यवस्थित फोहोर व्यवस्थापन अभियान, फिक्कल–५, सोल्पामा सामुदायिक पुस्तकालय स्थापना परियोजना तथा फिक्कल–४, सोखुमा महिनावारी स्वास्थ्य व्यवस्थापन तथा स्यानिटरी प्याड कर्नर स्थापना परियोजना सञ्चालन गरिएका थिए। परियोजना सञ्चालनका क्रममा क्लबहरूले जनचेतनामूलक सडक नाटक, र्याली, घरदैलो अभियान, अभिमुखीकरण कार्यक्रम, सरसफाइ अभियान, जनचेतनामूलक होर्डिङ बोर्ड स्थापना, खानेपानी धारा निर्माण, सामुदायिक पूर्वाधार निर्माण तथा पुस्तकालय स्थापना जस्ता विविध गतिविधिहरू सञ्चालन गरेका थिए।
परियोजनाका उपलब्धिहरूमध्ये तीनपाटन–११ मा पाँच स्थानमा डस्टबिन स्थापना गरी फोहोरको वर्गीकरण र व्यवस्थापन सुरु गरिएको, साथै बजार क्षेत्र सरसफाइ अभियान सञ्चालन गरी समुदायमा सरसफाइप्रतिको सचेतना वृद्धि गरिएको छ। त्यस्तै, गोलनजोर–१ दुधभञ्ज्याङमा सुरक्षित खानेपानीका लागि धारा निर्माण भएपछि स्थानीय परिवारहरूलाई स्वच्छ खानेपानीमा पहुँच सहज भएको छ।यस्तै, फिक्कल–५ सोल्पामा स्थापना गरिएको सामुदायिक पुस्तकालयले बालबालिका तथा युवाहरूलाई अध्ययन सामग्रीमा पहुँच बढाउन सहयोग पुर्याएको छ, भने फिक्कल–४ सोखुमा स्थापना गरिएको स्यानिटरी प्याड कर्नरले किशोरीहरूलाई सुरक्षित महिनावारी व्यवस्थापनका सामग्री सहज रूपमा उपलब्ध गराउन मद्दत गरेको छ।तीनपाटन गाउँपालिका–११ का वडा अध्यक्षले क्लबको सक्रियताको प्रशंसा गर्दै भन्नुभयो, "क्लबले फोहोर व्यवस्थापन सम्बन्धी परियोजना सञ्चालन गरेर समुदायमा उदाहरणीय काम गरेको छ। परियोजनामार्फत पाँच स्थानमा डस्टबिन स्थापना गरिएको छ। हामी सबैको सहभागितामा बजार सरसफाइ कार्यक्रम पनि सञ्चालन गरियो र समुदायका नागरिकहरूलाई जथाभावी फोहोर नफाल्न अनुरोध गर्दै जनचेतना फैलाइयो। बालबालिका तथा किशोरकिशोरीहरूको यस्तो अग्रसरता वास्तवमै प्रशंसनीय छ। क्लबलाई धन्यवाद दिन चाहन्छु।"
परियोजना कार्यान्वयनका क्रममा किशोरकिशोरीहरूले नेतृत्व, समस्या समाधान, समन्वय, सार्वजनिक बोल्ने कला तथा परियोजना व्यवस्थापनसम्बन्धी महत्वपूर्ण सीपहरू सिकेका छन्। साथै समुदायका नागरिकहरूले पनि विकास तथा सामाजिक परिवर्तनका गतिविधिहरूमा किशोरकिशोरीहरूको भूमिका प्रभावकारी हुन सक्ने अनुभव गरेका छन्। परियोजना सम्पन्न भएपछि सबै IMPACT+ क्लबहरूले आफ्ना गतिविधिहरूको समीक्षा गर्दै सिकाइ, उपलब्धि र चुनौतीहरू साझा गरेका छन्। साथै समुदायका प्रतिनिधि, अभिभावकको उपस्थितिमा रिभ्यु तथा उत्सव कार्यक्रम आयोजना गरी परियोजनाको सफलताको उत्सवसमेत मनाएका छन्। किशोरकिशोरीहरूको पहल, समुदायको सहयोग तथा स्थानीय सरकारको समन्वयमा सञ्चालन भएका यी समुदाय सेवा सिकाइ परियोजनाहरूले सामाजिक परिवर्तनको बलियो आधार तयार गरेको सरोकारवालाहरूले बताएका छन्। समुदायमा देखिएका सकारात्मक परिणामले आगामी दिनमा समेत यस्ता बाल तथा युवा नेतृत्वका कार्यक्रमहरू थप प्रभावकारी रूपमा विस्तार हुने अपेक्षा गरिएको छ।
भर्खरै
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा आँखाको मोतिविन्दु भई शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोली चश्मा वितरण ।
सिन्धुलीमा दुग्धजन्य पदार्थको मूल्य मनोमानी ढंगले वृद्धि नगर्न जिल्ला प्रशासन कार्यालयले सम्वन्धीत पक्षलाई निर्देशन ।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
धेरै पढिएको
कतारमा दुई प्रवासी नेपाली संगठनबीच ऐतिहासिक एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’को नयाँ यात्रा सुरु ।
सिन्धुलीका १० IMPACT+ क्लबद्वारा समुदाय सेवा सिकाइ परियोजना सम्पन्न, समुदायमा सकारात्मक परिवर्तनको सन्देश ।
कमलामाई ४ स्थित सिन्धुली एकेडेमी बाट आज विद्यार्थीहरू माझ सामाजिक प्रदर्शनी ।
सिन्धुलीमा सञ्चालन गरिएको मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिमको समापन।
सिन्धुलीमा मोन्टेसेरी तथा सिएएस अर्थात निरन्तर मुल्यांकन प्रणाली सम्वन्धी नेतृत्व विकास तालिम सञ्चालन ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुली स्थित सिड्स नेपाल सिन्धुलीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत रकम जम्मा ।
भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढी बाट प्रभावितका लागि सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ स्थित सिन्धुली पाठशाला बाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा





प्रतिकृया दिनुहोस