यस्तो छ काभ्रे मण्डनदेउपुरमा आर्थिक बर्ष २०७९/८० को समिक्षा


 काभ्रे।जिल्लाको मण्डनदेउपुर नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को बार्षिक प्रगति समीक्षा तथा आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम र बजेट तयारी गोष्ठी सम्पन्न गरेको छ ।
 
बुधवार कुन्ताबेसीमा नगरप्रमुख टोक बहादुर वाईबाको अध्यक्षता र जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपक कुमार गौतमको प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो ।
 
गोष्ठीमा उपप्रमुख विष्णुमणी नेपाल, प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोक बहादुर लोप्चन, जिल्ला समन्वय समितिका सदस्यहरु, नगरस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, शाखा प्रमुखहरु, पत्रकार उपस्थित हुनुभएको थियो ।
 
नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चालु खर्च तर्फ ६०.५० प्रतिशत र पूँजीगत खर्च तर्फ ५०.३७ प्रतिशत गरी खर्च भएको छ । नगरपालिकाको जेठ मसात्तसम्म ५५.६६ प्रतिशत खर्च भएको लेखा शाखाका प्रमुख पुष्पराज बजागाईले जानकारी दिए ।
यी कामहरु गरे नगरले
 नगरपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म खानेपानी तथा सरसफाई तर्फ ९२० वटा धारा जडान गरेको छ । २३ वटा इन्टेक निर्माण गरेको छ । यो आर्थिक वर्षको जेठसम्म ९.८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । योसंगै नगरपालिकाको लगानीमा कुल २४.७०० किलोमिटर सडक कालोपत्रे सकिएको छ । १२.८ किलोमिटर नयाँ सडक खनिएको छ । २ हजार ८८४ किलोमिटर पक्की नाली निर्माण गरिएको छ ।
 
नगरपालिकाभित्र चालु आर्थिक वर्षमा १७ वटा सोलार बत्ती जडान गरिएको छ । योसंगै नगरभित्र सोलार बत्तिको संख्या ६६ वटा पुगेको छ ।
 
नगरपालिकाभित्रको ७ वटा स्वास्थ्य चौकी, ५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र २ वटा शहरी स्वास्थ्य सेवा केन्द्र मार्फत चालु आर्थिक वर्षमा २२ हजार ३१५ जनाले सामान्य स्वास्थ्य पाँच गरेका छन् । नगरपालिकाभित्र १७ वटा गाउँघर क्लिनिक र ३३ वटा खोप क्लिनिक सञ्चालनमा रहेका छन् । पूर्ण खोप लगाउने बालबालिकाको संख्या ८८.७ प्रतिशत रहेको छ । १४ जना कुपोषित बालबालिकाको उपचार गरिएको छ भने २ हजार १२६ जना बालबालिकाको पोषण जाँच गरिएको छ ।
 
२८५ जनाको स्वास्थ्य संस्थामा पहिलो पटक गर्भ जाँच गरिएको छ । नगर अस्पतालबाट १०७ जनाले निःशुल्क भिडियो एक्सरे सेवा लिएका छन् भने १०२ जनाले प्रसुति केन्द्रबाट सेवा लिएका छन् । १ हजार ८६७ जना किशोरीले एक पटकका दरले २६ हप्ता आइरन खाएका छन् । निःशुल्क चस्मा वितरण, महामारी ब्यवस्थापन, ज्येष्ठ नागरिकका लागि निःशुल्क आँखा परीक्षण, ४३ जनाको निःशुल्क मोतियाविन्दुको अप्रेसन गरिएको छ । ३० वर्ष माथिका २ हजार ७६५ जनाको सुगर जाँच गरिएको छ ।
 
बाल विकास तहदेखि १२ कक्षासम्मका शिक्षकहरुलाई उत्तप्रेरित गर्न बृहत अन्तरक्रिया सम्पन्न भएको छ । विद्यार्थीको प्रतिभा प्रष्फुटन गराउन तहगत रुपमा विभिन्न प्रतियोगिता सञ्चालन गरिएको छ । प्रधानाध्यपाक, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, शिक्षक विद्यार्थी अभिभावक संघका अध्यक्ष तथा जनप्रतिनिधिबीच कार्यशाला सम्पन्न भएको छ । उत्कृष्ट शैक्षिक उपलब्धी हासिल गर्ने विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय ब्यवस्थापन समितिका अध्यक्षलाई सम्मान गरिएको छ ।
 
शौक्षिक क्यालेन्डर प्रकाशन गरिएको छ । ६ हजार विद्यार्थीलाई गृहकार्य डायरी वितरण गरिएको छ । कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्र निर्माण गरि पठनपाठन शुरु गरिएको छ भने कक्षा १ देखि ३ सम्म तामाङ र डोने मातृ भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गरी मातृभाषामा पठनपाठन भैरहेको छ ।
 
३३ जनालाई सिलाई बुनाई, १५ जनालाई बाख्रा पालन, ७ जनालाई तरकारी खेती, ३ जनालाई मोटरसाइकल मर्मत र १५ जनालाई गलँैचा बुभनाई तालिम प्रदान गरिएको छ । ८० जना सूचीकृत बेरोजगार ब्यक्तिहरुलाई १ सय दिनको न्यूनतम रोजगारी प्रदान गरिएको छ । कोभिड–१९ बाट रोजगारी गुमाएका ५८७ घरपरिवारलाई जनही १० हजारका दरले नगद हस्तान्तरण गरिएको छ ।
 
मेलमिलाप केन्द्र मार्फत १५ वटा विवाद समाधान भएको  छ । मेलमिलाप सम्बन्धि आठ दिवसिय आधारभूत तालिम सम्पन्न भएको छ । ७२ जना महिलालाई उद्घोषण तथा भाषण कला तािलम दिइएको छ । अपांगता भएका ब्यक्तिका लागि ३ वटा शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट ६ जना क वर्गको, ९ जना ख वर्ग, १९ जना ग वर्ग र १७ जनालाई घ वर्ग गरि कूल ५१ जनालाई अपांगता परिचयपत्र वितरण गरिएको छ । चालू आर्थिक वर्षमा ५५ जना पुरुष र ३३ जना महिलालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । हालसम्म १ हजार १३१ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ ।
 
नगरपालिका अन्तर्गतका १२ वटै वडा कार्यालय, स्वास्थ्य चौकी, माध्यामिक विद्यालय र आधारभूत विद्यालय लगायत ७० भन्दा बढी कार्यालयमा उच्च गुणस्तरको फाईबर सहितको इन्टरनेट जडान गरिएको छ । नगरपालिकाबाट प्राइभेट नेटवर्क विस्तार गर्ने कार्य सम्पन्न गरिएको छ ।
 
७३१ जनालाई ब्यावसायिक तरकारी खेती तालिम दिइएको छ । १० हजार केजी मकवानपुर–१ र ७ हजार १४३ केजी खुमल–४ जातको धानको बिउ वितरण गरिएको छ । ११० मेट्रिकटन कृषि चुन वितरण गरिएको छ भने ६८ वटा पक्की आइरन फ्रेम निर्माण गरिएको छ ।
 
७ हजार ५२१ गाई, ४ हजार ८९८ भैसी, १८ हजार ६१३ बाख्रा, १७० बंगुर लाई खोरेत विरुद्धको खोप लगाइएको छ । १७३ वटा कुकुरको स्थायी बन्ध्याकरण तथा ४४२ वटा कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको छ ।  ३५ हजार ५९९ वटा पशुवस्तुलाई भेटिरिनरी औषधि वितरण गरिएको छ ।
 
जिसस प्रमुख गौतमले नगरपालिकाको विकास अन्य पालिकाले पनि सिक्न लायक रहेको भन्दै सबै राजनीतिक दल, नागरिक समाज र नगरबासीको विकास निर्माण प्रति साझा धारणा हुँदा पनि उपब्धी हासिल गर्न सकिने बताउनुभयो ।
 ° कसले के भने ?
नगरप्रमुख वाईबाले नगरपालिकाको विकास गर्न सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको बताए । उनले अधिकांश सुझावहरु सकारात्मक रहेको भन्दै नगरपालिकाको स्रोत र साधनले भ्याएसम्म तीब्र गतिमा काम गर्ने बताए ।  
 
उपप्रमुख नेपालले नगरपालिकाले अझै धेरै काम गर्न बाँकी रहेको भन्दै लयभन्दा बाहिर नगएको बताउनुभयो । उहाँले विकास निर्माण सबैको साझा एजेण्डा भएको बताए ।
 
•यस्तो छ सुझाव 
कार्यक्रममा दलका प्रतिनिधिहरुले नगरपालिकाले आगामी वर्षका लागि समावेश गर्नुपर्ने योजना र बजेटका बारेमा सुझाव दिएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा (एकीकृत समाजवादी) का नगर स्तरीय प्रमुख एवं प्रतिनिधिले सुझाव दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३