प्रधानमन्त्रिको भारत भ्रमण र बिवादमा परेको संझौता

नेपालका कतिपय यस्ता नेताहरु पनि रहेका छन्, जो जे भन्छन् त्यो गर्दैनन्, जे गर्छन, त्यो भन्दैनन् । प्रधानमन्त्री पुष्पकमल दाहालले हालै गर्नुभएको चारदिने भारत भ्रमणकाक्रममा पनि त्यस्ता कतिपय सन्दर्भहरु देखिए । जसलेगर्दा जुन जुन बिषयलाई लिएर भारतमा खुसीयाली मनाइयो, प्राय: तिनै बिषयलाई लिएर नेपालमा बिरोध भएको छ । प्रधानमन्त्रि दाहालले भारत भ्रमणका महान उपलब्धी भनेका बिषयलाई नेपालका खासगरी अन्य कम्युनिष्ट पार्टीहरुले गंभिर गल्तीकारुपमा ब्याख्या र बिश्लेषण गरिरहेका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले त प्रधानमन्त्री दाहालले भारत भ्रमणकाक्रममा गरेको सातबुँदे सहमति राष्ट्रघाती र आत्मसमर्पणवादी रहेको ठहरगर्दै खारेजगर्न माग गरेको छ । सो पार्टीले सातबुँदे सहमति सारत: राष्ट्रघाती र आत्मसमर्पणवादी रहेको ठहरसमेत गरेको छ । त्यसैगरी बर्तमान सरकारलाई समर्थन गरिरहेको राष्ट्रिय जनमोर्चाका नेताहरुलेसमेत ठूला दलका नेताहरुले युरोपियन यूनियन र अमेरिकी तथा भारतीय साम्रज्यवादीका एजेण्डा बोकेर हिँडेको आरोप लगाउनुभएको छ । बर्तमान इन्डो पश्चिमा गठबन्धनमा रहेको राजमोका नेताहरुले सत्ता सञ्चालनगर्नेहरु सत्ताका लागि देश र जनताकोभन्दा विदेशीका एजेण्डा बोकेर हिँड्ने गरेको खुलाशागर्नु कम सम्बेदनशील कुरा होइन । हुनत राजनीतिगर्नेहरुले आफ्नो देशको तस्बिर अगाडि राख्नुपर्ने हो । तर दुर्भाग्य नेपालमा त्यस्तो हुन सकेन । प्रधानमन्त्रि दाहालले गत पुस १० गते आफू प्रधानमन्त्रि पदमा नियुक्त भएदेखिनै भारतको भ्रमण नगरि अन्य देशको भ्रमणनै नगर्ने बताउनु भएको थियो । प्रम दाहालको भारत भ्रमणको ब्यग्रतालाई बुझेर होला भारतले पनि झण्डै छमहिना कुराउने काम गर्‍यो । यसअघि छमहिना कुरेर भारतको भ्रमणगर्ने नेपालका कुनैपनि प्रधानमन्त्रिहरु थिएनन् । यसबीचमा नेपाल र भारतका अधिकारीहरुले सरकारी एजेण्डा बोकेर दर्जनौ पटक दिल्ली र काठमाडौंमा ओहोर दोहर गरेका समाचारहरु बाहिर आएका थिए । कतिपय अवस्थामा त भारतले नेपाललाई भुटानजस्तै संरक्षित मुलुक बनाउने प्रस्ताव गरेको चर्चा पनि भयो ।
भारतले नेपालको गृह, परराष्ट्र र आन्तरिक श्रोतमा आफ्नो हात माथिपार्न चाहेको पनि भनियो । तर प्रम दाहालको भारत भ्रमणका क्रममा प्रकटरुपमै त्यस्ता कुराहरुभने आएनन् । तर पनि प्रम दाहालले आफ्नो चारदिने भारत भ्रमण फलदायी भएको पटक, पटक जिकिर गर्नुभएको छ । भारत भ्रमण ऐतिहासिक बनाउने उद्देश्य बोकेर गत १७ गते दिल्ली प्रस्थान गर्नुभएका दाहालले असहज अवस्था ब्यहोर्नु परेको पनि बताइन्छ । तर पनि सबै असहज अवस्थालाई चिर्दै आफ्नो भ्रमण फलदायी बनाउन सकेकोमा प्रम दाहालले गौरवको अनुभव गर्नुभएको छ । त्यो केभने नेपालबाट प्रम दाहालले जे जे एजेण्डा उठाउने भनेर दिल्ली प्रस्थान गर्नुभएको थियो भारतमा ति एजेण्डा उठाउनै नसक्ने अवस्थाको सिर्जना भयो । दिल्ली पुगेकै दिन गत १७ गते उहाँले शुरुमा नेपालका एजेण्डाहरुलाई भारतीय सुरक्षा सल्लाहकार अजित डोभालबाट अनुमोदन गराउनु परेको थियो । विदेश भ्रमणकाक्रममा यसअघि नेपालका कुनैपनि सरकार प्रमुखहरुले भारतका सुरक्षा सल्लाहकारसँग एकान्तवास बस्नुपरेको थिएन । तर प्रम दाहाललाई दिल्लीस्थित आफू बसेको होटल आईसीटी मौर्यमा त्यस्तो अवसर मिलेको थियो । त्यसैगरी हाल जेजस्ता कुराहरुमा सहमति र संझौता भएको भनिएको छ, त्यसका लागि पनि प्रम दाहालले भारतीय प्रधानमन्त्रि मोदीसँग पटक, पटक एकान्त वार्ता गर्नुपरेको थियो । अन्तत ऊर्जा व्यापारमा १० वर्षमा १० हजार मेगावाट बिद्युत भारतले किन्नेसम्बन्धी सहमति भएपछि प्रम दाहालले त्यसलाई ऐतिहासिक भएको बताउनु भएको छ । बताइएअनुसार प्रम दाहालको भारत भ्रमणकाक्रममा नेपाल–भारत पारवहन सम्झौता नवीकरणगर्ने सहमति बनेको, सीमापार पेट्रोलियम पाइपलाइन (अमलेखगञ्जदेखि चितवनसम्म र सिलिगुडीदेखि झापासम्म) एवं टर्मिनल निर्माण सम्झौता भएको, नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्ष्टिच्युटबीच सहकार्यको सम्झौता भएको, चाँदनी दोधारामा एकीकृत जाँचचौकी स्थापनागर्ने सम्झौता भएको, भारतीय कम्पनीद्वारा फुकोट कर्णाली आयोजना निर्माणगर्ने, डिजिटल पेमेन्ट (नेपाल क्लियरिङ हाउस लिमिटेड र नेपाल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबीच) सहकार्यगर्ने सम्झौता भएको छ । त्यसैगरी विकास निर्माणसम्बन्धी केही आयोजना पनि भारतले घोषणा गरेको भनिएको छ । जसमा प्रधानमन्त्री मोदीले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेको भनिएपनि दीर्घकालीन व्यापार सम्झौता भने हुनसकेको छैन । प्रधामन्त्री दाहालको भारत भ्रमणको अवसर पारेर बथनाहाबाट नेपालको विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन गरियो । त्यसैगरी नेपालगञ्ज र रुपैडिहामा तथा भैरहवा र सुनौलीमा एकीकृत जाँच चौकी उद्घाटन गरियो । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनअन्तर्गतको दोश्रो चरणपनि उद्घाटन भएको छ ।
त्यसैगरी गोरखपुर–बुटवल प्रसारण लाइनको भारतीय भागको शिलान्यास पनि गरिसकिएको छ । यिनै हुन् जेठ १८ गते हैदरावाद हाउस वार्ताले गरेका कामहरु । तर नेपालको मुख्य सरोकार रहेको विषय भनिएको हवाई रुट विस्तार र पञ्चेश्वर बहुद्देश्यीय परियोजनाकाबारेमा केही पनि हुन सकेन । महाकाली सन्धी भएको २७ बर्षमा पनि अझै महाकालीको पानी बाँडफाँटको विषयमा ठोस सहमति हुन नसक्नु गंभिर बिषय रहेको छ । त्यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालनगर्ने सहमति भएको भनिएपनि संझौता हुन बाँकीनै छ । विद्युत व्यापारसम्बन्धी सम्झौताका केही बाहिरी पाटाहरु सार्बजनिक भएपनि भित्री पाटाहरु खुलिसकेका छैनन् । किनकी भारतीय पक्षले सो संझौतागर्न पनि पटक, पटक नेपाललाई तर्साउने काम गरेको थियो । जसलाई प्रम दाहाल र मोदीको एकान्त वार्ताले संभव गराएको भनिन्छ । सो वार्तापछि मोदी आफैले सीमा समस्या पनि समाधानगर्ने बताउनु भएको थियो । के भनिन्छ भारतले एकतर्फीरुपमा तयार गरेको सीमा नक्सामा नेपालले फाष्ट ट्रयाकबाट संझौताको तारतम्य मिलाउन सकिने संकेत गरेपछि मोदी सीमा समस्या समाधानगर्न हौसिनु भएको छ । त्यो मोडलमा सीमा संझौता भएको खण्डमा भारतले ५४ भन्दा बढी स्थानमा मिचेको नेपालको ६० हजार हेक्टर भन्दा बढी जमिन सहजै भारतमा बिलय हुने छ । प्रम दाहाल भारत भ्रमणमा जानुभन्दा केही घण्टा अघिमात्र संसदलाई बाइपास गरेर सरकारको सिफारिसकै भरमा बिवादास्पद नागरिता विधेयकलाई सुपर फाष्ट ट्रयाकबाट ऐन बनाउन सकिएको कुराले पनि ‘बढाले जे गर्‍यो काम हुन्छ त्यो सर्बसम्मत’ भन्ने लागेको हुनसक्छ । जेठ १८ गते भारतीय प्रम मोदीसँग गरेको पटक, पटकको एकान्तवासले बिद्युत ब्यापार संझौतामात्र गराएन सायद त्यही कुराकानीबाट हौसिएर होला भारतीय प्रम मोदीले दुई देशबीचको सम्बन्ध सुपर हिट र हिमालयको हाइटमा जान्छ भन्दिनुभयो ।
प्रम दाहालको भारत भ्रमणकाक्रममा ईजीपी प्रतिवेदन र अग्निपथलगायतका विषयमा कुरा समेत उठेन । भारतीय प्रधानमन्त्री मोदीले वाणिज्य, ऊर्जा, संस्कृति र पूर्वाधारमा गहन छलफल भएको प्रतिक्रिया दिए पनि त्यसका खास आधारहरु देखिएका छैनन् । प्रम दाहालको यो भ्रमणबाट नेपाल र भारतकै बीचमा सम्बन्ध सुधार नभएपनि प्रम दाहाल र भारतीय प्रम मोदीकाबीचमा राम्रैसँग सुधार भएको सबैले प्रत्यक्ष अनुभवगर्न पाएका छन् । हाल आएर कतिपय विषयमा नेपाली पक्षकै तयारी र पहल नपुगेको भन्नथालिएको छ । कतिपयले दिल्लीस्थित नेपाली दूतावासको भूमिका कमजोर रहेको दोषारोपण पनि गर्नथालेका छन् । अजित डोभालसँगको भेटवार्तामा नेपालका प्रधानमन्त्रि दाहालले परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई नभई आफ्नै छोरीलाई साथमा राखेको बिषय कुटनीतिक मर्यादा बिपरित हुनपुगेको थियो । प्रम दाहालको यसअघिदेखि नै अन्तरंग वार्ता हुनेगरेको नबुझेकाहरुले मात्र उपरोक्त टिप्पणी गरेका हुनसक्छन् । किनकी दाहालले यसअघिको रहस्यमय दिल्ली भ्रमणकाक्रममा पनि डोभाललाई उहाँकै घरमा गएर झण्डै दुईघण्टा अन्तरंग वार्ता गर्नुभएको थियो । त्यसपछि नै गत १७ गते पारित विधेयक बनेको थियो । जसमा शब्द शब्द फेर्ननसकिने अवस्था थियो । जुन विधेयक तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा दुई पटक फाष्ट ट्रयाकबाट पारित हुन नसकेपनि दाहालको प्रधानमन्त्रित्व कालमा सुपर फाष्ट ट्रायकबाट पारित हुन सक्यो । प्रम दाहालले आफ्नो भ्रमणको अन्त्यमा भारतमा गेरुवस्त्र ओढेर मन्दिरमा पुजाआजा गरेकोलाई पनि कतिपयले आलोचनाको बिषय बनाउन खोजे । तर प्रम दाहालले स्वदेश फर्केपछि त्रिबि अन्तराष्ट्रिय बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो जहाँ पुग्यो त्यहींको टोपी लगाउने परंपरानै रहेको बताएर स्पष्ट गरिसक्नु भएको छ । समग्रमा उहाँको यो भ्रमण बिवादास्पद रह्यो । जसकाबारेमा भाबि दिनहरुमा थप चर्चा र परिचर्चा हुँदैजाने छ ।

प्रतिकृया दिनुहोस

सम्पर्क ठेगाना

  • हिमालयपत्र डटकम

  • कमलामाइ नगरपालिका-४, सिन्धुली
  • himalayapatra2021@gmail.com
  • ०९७७-४७-५२०१०३